हेटौंडा । मकवानपुर बहुमुखी क्याम्पसकाे स्ववियु निर्वाचनमा सभापतिका स्वतन्त्र उम्मेदवार पुष्कर घिमिरे प्रभाषले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन् ।

आज साेमबार पत्रकार सम्मेलनमार्फत घिमिरेले भोलि ५ चैत मंगलबार हुने स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) निर्वाचनमा अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानलका सभापति उम्मेदवार प्रसिद्ध रेग्मी र उनको प्यानललाई समर्थनसहित सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । उनले आफ्नाे उम्मेदवारी फिर्ता लिएकाे घाेषणासँगै अनेरास्ववियु र नेविसंघको प्रसिद्ध रेग्मी नेतृत्वकाे संयुक्त प्यानललाई मतदान गरेर जिताउन सबै विद्यार्थी माझ अनुराेध पनि गरे ।

`मेरो स्वतन्त्र उम्मेदवारी रहेकोमा सो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु, स्ववियु भनेकै अनेरास्ववियु हाे ।अब प्रसिद्ध रेग्मीको प्यानललाई सहयोग गर्न सबै विद्यार्थी साथीहरुमा अपिल गर्दछु ।´ उनले पत्रकार सम्मेलनमा भने ।

मकवानपुर बहुमुखी क्याम्पसका दुई ठूला संगठन अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानल बनेपछि रेग्मी नेतृत्वकाे टिमकाे जित सुनिश्चित भएकाे दुई संगठनका नेताहरूले दाबी गरेका छन् । आइतबार मात्रै अखिल (क्रान्तिकारी) नेतृत्वकाे प्यानलमा उम्मेद्वार बनेका दुई जनाले अनेरास्ववियु र नेविसंघको टिमलाई समर्थन गरेका थिए । मकवानपुर बहुमुखी क्याम्पसमा झण्डै २८ सय विद्यार्थीले स्ववियु निर्वाचनमा मतदान गर्नेछन् ।