हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा प्रतिनिधिसभा सदस्य दिपक बहादुर सिंहले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई जथाभावी मनगणन्ते कुरा गर्दै जनतामाझ भ्रम छर्ने काम नगर्न अनुरोध गरेका छन् ।

राप्रमा निकट युवक संगठनको कार्यक्रममा प्रचण्डको तस्विर जलाएको विषयमा खबरब्रेकसङ्ग कुरा गर्दै सिंहले प्रचण्डलाई १७ हजारको ज्यान लिएर जनतालाई के दिनुभयो भन्ने प्रश्न समेत गरेका छन् ।

उनले भने – तपाईंहरुले १७ हजार मारेर ल्याएको गणतन्त्रले जनताले के पाए र अहिले राजालाई अनेक आरोप लगाउदै हिड्नुभएको ? तपाईं तीन- चार पटक प्रधानमन्त्री भैसकेको मान्छे अनि आफू सरकारमा भएको बेलामा हिम्मत भएको भए कारबाही गरेको भए हुन्थ्यो नि ? अहिले जनतालाई भ्रम छर्न मिल्छ र ?

आजको घटना आम जनताको आक्रोश रहेको बताउदै फागुन २५ गते राजाको पक्षमा देखिएको जनसागर देखेर प्रचण्डहरु आत्तिएको उनले बताए । जनताहरु अहिलेको व्यवस्थाबाट वाक्क भैसकेको बताउदै सिंहले जनताले चाडै राजा सहितको प्रजातन्त्रको स्थापना गरेरै छाडने बताए ।

राजा सहितको प्रजातन्त्र नेपालकोलागि सबैभन्दा राम्रो व्यवस्था भएको भन्दै आम जनताले यो विषयलाई अहिले बुझेको दावी गरे ।